पुँजीवाद शिक्षा क्षेत्रमा पनि हाबी छ : माधव नेपाल

`

     २०८० श्रावण १४ गते २:५८

काठमाडौँ, १४ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको बताएका छन् ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवाद समस्याका रूपमा रहेको बताएका हुन् ।

‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा व्यवस्था क्रियाशील छ । एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था । हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा पनि हाबी छ । राज्यको प्रशासनमा पनि हाबी छ । र यो व्यवस्थालाई नै कुरूप बनाउने कुरामा पनि जिम्मेवार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?