काठमाडौँ, ५ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एशोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन् ।
सर्वोच्च अदालत लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्दै उनले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको बताए ।
प्रेस काउन्सिल नेपालको टोलीसँग मङगलबार उनले प्रेस जगत र बार एशोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने भन्दै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने समेत बताए ।
‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रुपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ । अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु’ प्रधानन्यायाधीश कार्कीले भने, मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु ।’




