विराटनगर, जेठ २९ । अहिलेकै पार्टी नेतृत्वबाट नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै निरन्तर दबाब दिँदै आएका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवाप्रति झनै आक्रामक बन्दै गएका छन्।
सभापति देउवाले तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँदै महामन्त्री थापाले अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि सुझाएका छन्।
मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ,’ थापाले भने ‘यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु हुँदैन।’
महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन। ‘उहाँ पाँच–पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आश गर्नुहुँदैन। अरू जो सुकै बने पनि हुन्छ।’




