काठमाडौँ, जेठ २६ । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले १० वर्षको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको आग्रह र पूर्वाग्रहमुक्त छलफल गर्दै निष्कर्ष निकाल्न समिति गठन गर्ने माग गरेका हुन् ।
उनले भने, “विगत १० वर्षका बजेटको समीक्षा गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु । अर्थविद् नागरिक समाज, किसान, पत्रकार, पूर्वन्यायाधीश र सम्बन्धित क्षेत्रका विज्ञसहितको उच्चस्तरीय आयोग वा समिति बनाऔँ ।”
उनले प्रतिपक्ष दलबाट बजेटको वस्तुनिष्ठ समीक्षा नभएको आरोप समेत लगाए ।




