काठमाडौँ, २९ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले यसमा दृढताकासाथ काम गरिरहेको बताए ।
उनले भने, ‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रीपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ । अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ । तर्जुमाका दृष्टिकोणबाट भएका कमीहरू हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरू प्रक्रियामा रहेकाले हुनसक्छ । यो जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ । विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्थामा अहिले समिति सचिवले दिनुभएको तथ्याङ्क भयावह छ । यो मनोपरामर्श सम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढङ्गले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्याङ्कन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ ।’




