काठमाडौँ, २६ बैशाख । सांसद विनोद चौधरीले बिजुली निर्यातबाट नेपालको व्यापार घाटाको खाडल पुर्न सकिने बताएका छन् । प्रतिनिधिसभामा जारी बजेटका प्राथमिकता तथा सिद्धान्तको छलफलमा बोल्दै सांसद चौधरीले बिजुली व्यापारबाट नै वस्तु आयात गर्दाको व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएका हुन् । ‘पछिल्लो समयमा नेपालमा जलविद्युत उत्पादनमा उत्कृष्ट मोडल सामन्ने आएको छ,’ चौधरीले भने, ‘पहिलोपटक नेपाल र भारतको संयुक्त लगानीमा अरुण ४ आयोजना बन्दैछ ।’
अरुण चौथोबाट नेपालले निःशूल्क बिजुली पनि पाउने र व्यवसायीक साझेदार पनि बन्ने भएकाले यो मोडल उत्कृष्ट भएको चौधरीको भनाई छ । ‘वस्तुको व्यापारबाट व्यापार घाटाको खाडल पुरा गर्न मुस्किल पर्छ,’ चौधरीले थपे, ‘यहि कारण, जलविद्युत आयोजना निर्माण गरेर बिजुली निर्यातमार्फत व्यापार घाटाको खाडल पुर्न सकिन्छ ।’




