नेपालमा बनेका सवारी साधन दर्ता हुने

`

     २०८० वैशाख १४ गते १२:४८

काठमाडौँ, १४ बैशाख । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न सक्नेगरी नयाँ व्यवस्था गरेको छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर उक्त व्यवस्था लागु गरिएको हो । बुधबार यातायात व्यवस्था विभागले कार्यविधि संशोधनको निर्णय गर्दै नेपालमा बनेका सवारी साधन दर्ताको बाटो खोलिदिएको हो ।

विभागले उक्त कार्यविधिको बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेर सो व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि सवारी साधन दर्ता गराउँदा भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने नियम थियो । यो आयातीत सवारी साधनका हकमा लागु हुने भए पनि नेपालमै बनेको साधनका लागि कानुनी व्यवस्था थिए । त्यसैकारण नयाँ बुँदा थप गरेर कार्यविधि संशोधन गरिएको हो ।

थपिएको बुँदामा भनिएको छ, ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?