एजेन्सि, चैत २२ । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले सोसल डेमोक्र्याटिक पार्टीको अध्यक्षपदबाट राजीनामा दिने घोषणा गरेकि छन् ।
उनले पार्टी प्रमुखको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेपनि आगामी सेप्टेम्बरमा हुने पार्टीको अधिवेशनबाट अर्को अध्यक्षको चयन नहुँदासम्म उक्त जिम्मेवारीमा रहने बताएकी छन् ।
आइतबार सम्पन्न संसदीय निर्वाचनमा उनको दल कन्जरभेटिभ नेसनल कोलिशन पार्टी र दक्षिणपन्थी फिन्स पार्टीभन्दा पछि अर्थात् तेस्रो स्थानमा आएको छ ।
मरिनले संसद्मा साधारण सांसदको रूपमा रहनु भन्दा पहिले नयाँ सरकार गठनका बारेमा परामर्शमा आफ्नो पार्टीको नेतृत्व गर्ने बताउँदै आफुले बिहीबार प्रधानमन्त्रीबाट राजीनामा दिने र कामचलाउ हैसियतमा रहने बताइन् ।
मरिनले आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा आफू राष्ट्रपतिपदका लागि उम्मेदवारी नदिने बताएकी छन् ।




