काठमाडौँ, चैत ५ । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभागको टोली पोर्चुगल जाने ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली यही मार्च २९ मा पोर्चुगल जाने भएका हुन् ।
लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा टोलीले करिब एक महिना राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रदान गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।
पोर्चुगलमा रहेका नेपालीलाई सेवा प्रदान गर्न विभागबाट खटिएको टोलीसँगै दूतावासका कर्मचारीको समेत सहभागिता रहने फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिए ।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रदान गर्ने राजदूत अधिकारीले बताए।




