
समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले मन्त्री परिषद् पुनर्गठनमा प्रधानमन्त्रीको कायशैली स्वेच्छाचारी भएको दोषारोपण गरेका छन् । कसैसँग सल्लाह नगरी आफूखुसी मन्त्रीहरूको हेरफेर गरेर प्रधानमन्त्री निरङ्कुश बनेको उनको आरोप छ ।
भट्टराईले समाजवादी पार्टीका तर्फबाट नेतृत्व गरेका उप प्रधानमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला एक तर्फी ढङ्गले मन्त्री र मन्त्रालयको हेरफेर गरेर प्रधानमन्त्रीले लोकतन्त्रको मान्यता विपरीत काम गरेको आरोप लगाए ।
त्यसो त मन्त्रीहरूको हेरफेरमा न्यायोचित र स्वच्छ हिसाबले काम नगरिएको गुनासो छ । सोचे जतिको उचाइ लिएर काम गर्न नसके पनि केही महत्त्वपूर्ण कामको जस सरकारले पाएको छ । उक्त जस दिने महत्त्वपूर्ण मन्त्रीहरू क्रमशः रघुवीर महाशेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणि खनाल, थममाया थापा आदिलाई कामको जस नै नदिई अनुचित तरिकाले बर्खास्त गरेको दोष प्रधानमन्त्रीलाई लगाइएको छ ।
त्यसै गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई हटाएर पुनर्गठित सरकारमा महिला सहभागिता १६ प्रतिशत बाट ८ प्रतिशतमा झारिएको छ । यस हिसाबले राज्यको हरेक निकायमा संविधानले प्रत्याभूति गरेको जस्तो गरी महिलाको ३३ प्रतिशत सहभागितालाई झन् घटाइएको छ ।



