काठमाडौँ, मंसिर २३ । मधेस, वाग्मती र गण्डकी प्रदेशका डेढ दर्जन बढी जिल्लामा रासायनिक मल परिचालन गर्ने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जले मागअनुसार मल आपूर्ति भइरहेको दाबी गरेको छ ।
कार्यालयका सूचना अधिकृत आलोक कुमारअनुसार हाल मधेसमा डीएपी र पहाडमा युरिया मलको माग अत्यधिक छ । उनले प्रत्येक जिल्लालाई निर्धारण गरिएको कोटाअनुरूप नै मल पठाइएको बताए । ‘मातहतका जिल्लामा कति मल परिचालन गर्ने हो त्यो कोटा निर्धारण भएअनुसार नै हुन्छ,’ उनले भने, ‘हाल मधेसमा डीएपी र पहाडमा युरिया मलको माग अत्यधिक छ ।’
युरिया मल भित्रिने क्रम जारी नै रहेकाले यसको अभाव नै नहुने उनले दाबी गरे । डीएपी मलको मौज्दात पहाडका कतिपय जिल्ला कार्यालयमा रहे पनि त्यहाँ माग नरहेको तर मधेसका जिल्लामा डीएपीको माग भए पनि मौज्दात नरहेको उनले बताए । ‘यो कोटा प्रणालीकै समस्या हो,’ उनले भने, ‘कोटा छुट्याउँदा भूगोल र किसानको मागलाई ध्यान दिनुपर्छ ।’
कार्यालयको तथ्यांकअनुसार, कात्तिकदेखि बुधबारसम्ममा मातहतका जिल्लामा ५ हजार ३ सय ३२.५ मेट्रिकटन युरिया मल पठाइएको छ । कम्पनीले ग्लोबल टेन्डरबाट भारतको आईपीएल कम्पनीमार्फत उक्त मल भित्र्याएको हो ।




