भरतपुर, मंसिर ४ । गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन्। नयाँ सांसद चुन्नका लागि आज देशभरि मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।
अहिले आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि मतदान गरिरहेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मत खसालेका हुन्। मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए। अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन। गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने-चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।




