माफिया,व्यवसायी,मिडियाकर्मी लगायत पनि चुनावी प्रतिस्पर्धामा

`

     २०७९ कार्तिक २९ गते ८:३१

काठमाडौं, कात्तिक २९ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आआफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यवसायीसमेत संसद्मा प्रवेश गर्ने आकांक्षासहित निर्वाचनमा होमिएका छन्। राजनीतिप्रति आम जनतामा आक्रोश बढ्दै गएको भनिएका बेला मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्ति प्रतिस्पर्धामा उत्रिएका हुन्। व्यापारी, व्यवसायी, संस्थागत विद्यालयका लगानीकर्ता, स्वास्थ्यकर्मीदेखि हिमाल आरोही, कलाकारलगायत विभिन्न क्षेत्रमा संलग्न व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनमा विनोद चौधरीदेखि, कोमल वली, रेखा थापा, विश्व पौडेल, रवि लामिछाने, उमेश श्रेष्ठ, बहादुरसिंह लामासहितका व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

आर्थिक चलखेल गरेर सांसद बनेको आरोप खेप्दै आएका व्यवसायी चौधरीले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्। पहिलोपटक एमाले र दोस्रोपटक कांग्रेसबाट समानुपातिकमा सांसद बनिसकेका व्यवसायी चौधरी यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। हाल मतदातासँग घरदैलो तथा साक्षात्कार अभियानमा दौडधुप गरिरहेका चौधरीले मतदातालाई निर्वाचन जितेको वर्ष दिनसम्म केही गर्न नसके अर्को पटक निर्वाचनमा मत नदिन आग्रह गरिरहेका छन्। उनले माटाको गुण तिर्ने अवसर पाएको बताउँदै नवलपरासी र त्यस क्षेत्रका मतदाताको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्दै घरदैलो तथा साक्षात्कार अभियानमा मतदातालाई मत दिन अपिल गरिरहेका छन्। उनले नवलपरासीमा विकासको गति तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै मतदातालाई सही उम्मेदवार चुन्न आग्रहसमेत गरेका छन्। विश्वका धनाढ्यहरूको सूचीमा १९२९औं नम्बरमा रहेका चौधरीका विभिन्न लोकप्रिय कम्पनी छन्। १.५ अर्ब डलरभन्दा बढीका मालिक चौधरीले सुखी, खुसी, समुन्नत, सुदृढ र समृद्ध समुदाय, समाज र राष्ट्र निर्माणका लागि आफ्नो उम्मेदवारी दिएको बताउँदै आएका छन्।

घण्टी निर्वाचन चिह्नबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की पेसागत हिसाबले मेडिकल डाक्टर हुन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर–३ बाट उम्मेदवार छिन्। उम्मेदवारी घोषणापश्चात् वैकल्पिक र सत्तारूढ दलहरूले आआफ्नो पार्टीबाट निर्वाचन लड्न प्रस्ताव गरे पनि कुनै पनि पुराना तथा स्थापित दलहरूलाई विश्वास गर्न नसकेकाले युवा तथा परिवर्तनकारी व्यक्ति मात्रै नभएर समूह नबनिसकेको स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिएको उनले बताइन्। ‘स्वास्थ्य, शिक्षा र रोजगारीमा सहजीकरण र परिवर्तन ल्याउनका लागि उम्मेदवार भएकी हुँ,’ उनले भनिन्, ‘मुलुकमा दक्ष, युवा, पढेलेखेको स्पष्ट तथा इमानदार नेतृत्वले मात्र अबको परिवर्तन र विकास सम्भव छ। मुलुकमा स्वास्थ्यजस्तो संवेदनशील विषयलाई सरकारले सधैं नजरअन्दाज गरेको हुँदा जनतामुखी व्यवस्था र विकासका लागि मैले उम्मेदवारी दिएकी हुँ।’

कार्कीले वर्षौंदेखि एउटै घोषणपत्र भएका दल र उम्मेदवारलाई मतदाताले पटक–पटक निर्वाचन जिताएर पठाउँदासमेत मुलुकमा विकास तथा सकारात्मक परिवर्तन आउन नसकेको आरोप उनले लगाइन्। जनताले देशमा परिवर्तन तथा विकास चाहेकोमा मूलधारका दलहरूले स्थापित गरेको स्वन्तन्त्रता, स्वाधीनता र व्यवस्था जनतालाई पुगिसकेको दाबी उनले गरिन्। ‘विगतमा जेल गइसकेका तथा ढुंगामुढा गरेका व्यक्ति, जो बाजे उमेरका छन्, उनीहरूले अहिलेको युवा जनशक्तिको भावना कसरी समेट्न सक्छन् ? ’ उनले प्रश्न गरिन्, ‘मुलुकलाई युवा तथा दक्ष जनशक्ति आवश्यक छ।’ नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यसमेत भइसकेकी डा। कार्कीले सरल तथा सहज स्वास्थ्य व्यवस्था, महिला तथा बालबालिका, रोजगारी तथा उद्यमशीलता, प्राविधिक शिक्षा र बजेटको सही कार्यान्वयनलगायत विषयलाई प्राथमिकतामा राखेकी छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेकी नेपालको पहिलो महिला सेभेन समिट आरोहण टोलीको सदस्य माया गुरुङ सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवार छिन्। आफ्नो जिल्लामा सामाजिक अभियन्ताको रूपमा निरन्तर कार्य गरिरहेकी उनी व्यक्ति र संस्थागत रूपमा भन्दा नीतिनिर्माण तहमा उपस्थित हुन सकेको खण्डमा प्रभावकारी परिवर्तन ल्याउन सकिने महसुस गरेर आफूले उम्मेदवारी दिएको तर्क गर्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?