बाइडेन र सी चिनफिङबीच भेटवार्ता

`

     २०७९ कार्तिक २८ गते ५:४२

काठमाडौं, कात्तिक २८ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

रुस युक्रेन द्वन्द्वमा फरक धारणा राख्ने र विश्व राजनीतिमा एकअर्काका प्रतिस्पर्धी मुलुकका नेतृत्वबीच जी-२० सम्मेलनअघि उनीहरूको इन्डोनेसियामा भेट भएको हो।

सेमिकण्डकटरमा लगाएको प्रतिबन्ध तथा ताइवानमा अमेरिकी नीतिका कारण दुई मुलुकबीचको सम्बन्ध थप चिसिएको छ।

भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू रहेको बताएका छन्।

चीनसँग सम्बन्ध सुधारका लागि आफू तयार रहेको बाइडेनको भनाइ छ।

‘विश्वका समस्या समाधानका लागि चीन र अमेरिकाबीच आपसी सहकार्यको आवश्यकता छ’, बाइडेनले भनेका छन्, ‘म चाहन्छु हाम्रा मतभेदको व्यवस्थापन होस् र हामीबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस्।’

यस्तै, चीनका राष्ट्रपति सीले अमेरिकी समकक्षी बाइडेनलाई दुई मुलुकबीचको प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्ने पक्षमा आफू पनि रहेको बताएका छन्।

‘अमेरिका र चीनबीचको स्थिर सम्बन्धको लाभ दुई मुलुकलाई मात्रै नभएर विश्वलाई नै पुग्नेछ। म दुई मुलुकबीचको सम्बन्ध सुधारका लागि सहकार्य गर्न तयार छु,’ सीले भनेका छन्।

अमेरिकाले गत अगस्टमा चीनमा सेमिकन्डकटर निर्यातमा प्रतिबन्ध लगाएपछि दुई मुलुकबीचको सम्बन्ध थप तिक्ततामा परिणत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?