काठमाडौं,कात्तिक २२ । स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० वटा स्कुल बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई १५ दिन भित्र मापदण्ड पूरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने सर्तमा छाडिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार गरिएको चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएको एक, बसको झ्यालमा डण्डी नराख्ने १०,कागजपत्र साथमा नराख्ने ४ वटा र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५ वटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो ।
मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए नभएको निरन्तर अनुगमन गरिने साथै मापदण्ड विपरीत सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । विशेष गरी पछिल्लो समयमा मापदण्ड विपरीत विद्यार्थी बोक्ने सवारी साधन सञ्चालन गर्दा दुर्घटना समेत बढी हुने गरेकाले मापदण्ड विपरीत स्कुल बस सञ्चालन नगर्नु काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।



