स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका हेमराज भण्डारी लगायत केन्द्रीय नेताहरु पार्टीबाट निष्कासन
काठमाडौं, कात्तिक १२ । माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराललाई कारबाही गरेको छ। नेकपा (माओवादी केन्द्र)ले पार्टी र गठबन्धनका उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दिने पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज र अध्यक्षको नाममा विशेष परिपत्र गर्दैै उनीहरूलाई कारबाही गरेका हुन्। भण्डारीले धनकुटाबाट, मण्डलले सप्तरी क्षेत्र नं १ र बरालले कालिकोटबाट प्रतिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए। यस्तै यादवले मधेस प्रदेश अन्तर्गतको पर्सा निर्वाचन क्षेत्र नं ४ (१) र मगरले रोल्पा क्षेत्र नं १ (२) बाट पार्टी र गठबन्धनका उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए।
माओवादी केन्द्रले पार्टीका प्रदेश समिति सदस्यहरू गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवार रहेको भएमा वा त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक रहेको भएमा तत्काल केन्द्रीय कार्यालयमा कारबाहीका लागि सिफारिस गर्न सम्बन्धित प्रदेश समितिलाई निर्देशन दिएको छ।




