नयाँदिल्ली, १४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा १३ जनाको मृत्यु भएको छ, भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।
भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शनले उग्र रुप लिँदै गएको छ । पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान जानुको साथै डेढ सयभन्दा बढी घाइते भएका छन्, भने ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको भारतीय मिडियाहरुले जनाएको छ ।

मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बन्यो । प्रदर्शनकारी बिहानैदेखि सडकमा उत्रिएपछि दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । त्यस्तै घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार गर्यो ।
घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

अधिकांश झडप उत्तर–पूर्वी दिल्लीको मुस्लिमबहुल इलाकाहरूमा भएका छन्। ती इलाका अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय नेताहरूसँग भेटघाट गरेको दिल्लीको केन्द्रबाट करिब १८ किलोमिटर पर छन्।
पत्रकार सम्मेलनका बेला दिल्लीमा भड्किएको हिंसाबारे सोधिएको एक प्रश्नको ट्रम्पले सिधै जबाफ दिएनन्। उनले दिल्लीमा भड्किएको हिंसाबारे सुनेको र ती घटना भारतले नै व्यवस्थापन गर्ने बताएकाे जनाइएकाे छ।
सम्वाददाताहरूका अनुसार वर्तमान दङ्गा प्रधानमन्त्री मोदीका निम्ति लज्जाजनक हुनेछ दिल्लीमा भड्किएको हिंसाले ट्रम्प भ्रमणलाई ओझेलमा पारिदिएको छ।




