काठमाडौँ, असोज १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक विज्ञप्तिमार्फत सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् ।
‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ’, शाहको विज्ञप्तिमा भनिएको छ ।
फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।
‘यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’




