काठमाडौं,असोज ११ । सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी कार्य दलको रिपोट सुन्दै थियौं । सबै रिपोट सुन्दा प्रदेश र संघको सिट बाँडफाँड सहमतिको नजिक पुगेको छ’ प्रचण्डले भने, ‘मलाई लाग्छ भोलि दिउँसोसम्म सबै सिट बाँडफाँट टुंगीयोस् । हामी निर्वाचनमा अभियानमा पाउँ । त्यसैले सिट बाँडफाँट अन्तिम तयारीमा पुगेको छ ।’
आगामी निर्वाचन प्रतिगमनलाई परास्त गर्नुका साथै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्ने चुनाव भएको प्रचण्डले बताए । प्रचण्डले प्रवासका पार्टीका नेता कार्यकर्तालाई सकेसम्म चुनावी प्रक्रियामा भाग लिन अनुरोध गरेका छन् । यदि यो चुनावी प्रक्रियामा सहभागी हुन नसकेमा विदेशबाटै आफन्त नातागोतालाई मार्फत अनुरोध गरेर सक्रिय सहभागिता र योगदान गर्न प्रचण्डले अपिल गरेका छन् ।




