राष्ट्रपतिको राजीनामा माग गर्दै मधेसमा जसपाको चरणबद्ध आन्दोलन घोषणा

`

     २०७९ आश्विन ०७ गते ११:३१

काठमाडौँ, असोज ७ । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गर्दै मधेश प्रदेशमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपतिले गत मंगलबार प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन्।

जसपाले मधेशमा शनिबारदेखि शान्तिपूर्ण आन्दोलन गरिने बताएको छ। जसपाले बुधबार र बिहीबार पनि मधेशका ८ वटै जिल्लामा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको थियो।

असोज ८ गते प्रदेशका सबै जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमका सन्दर्भमा नागरिक समाज लगायतसँग अन्तर्क्रिया गरिने जसपाले जनाएको छ।

जसपा मधेश समितिका सचिव दिनेश यादवका अनुसार असोज ११ मा भ्रातृ संगठनले राष्ट्रपतिविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम छ। राष्ट्रपतिको पुत्ला दहन गर्ने पनि उनले बताए।

असोज १३ गते पालिका तहमा अन्तर्क्रिया गरिने उनले बताएका छन्। यस्तै असोज १५, १६ र १७ मा पालिका र वडा तहमा राष्ट्रपतिको कदमविरूद्ध अन्तर्क्रिया गरिने उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?