काठमाडौँ, २९ भदौ । मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन् । प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजेको भन्दै १९ भदौमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको बताएका थिए ।
१९ भदौमा बसेको बैठकमा उनले यस मौजुदा संसद बैठकमा सहभागी नहुने भन्दै आफूले पाउने तलबभत्ता र सुविधा नपठाउन सभामुख र सचिवालयका कर्मचारीलाई आग्रह गरेका थिए । उनले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
बुधबार बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन् । यसैगरी जसपाकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । कांग्रेसका भरतकुमार साहले पनि सभामुख, उपसभामुख, सांसद सबैलाई धन्यावाद दिएका छन् ।




