काठमाडौं, भदौ १६ । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आइतबार फेरि बयान लिने भएको छ ।
राणासँग बुधबारबाट समितिले बयान लिन सुरू गरेको हो। बुधबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको थियो । बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उनलाई आइतबारका लागि बोलाएको समितिका एक सदस्यले बताए ।
यसअघि बुधबारको बयानमा चोलेन्द्रशमशेरले आफूमाथि लागेका आरोपहरूमा जवाफ दिनुको साटो आफू प्रधानन्यायाधीश हुँदा कसले किन आन्दोलन गरे र आफूमाथि किन महाभियोग प्रस्ताव आयो भन्ने कुरा गरेका थिए। उनले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, बहालवाला न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीमाथि विभिन्न आरोप लगाएका छन् ।




