काठमाडौं, १४ भाद्र । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक प्रणालीतर्फको निर्वाचनका लागि नेपाल प्रहरीलाई ७ अर्ब ९९ करोड ४९ लाख २ सय बजेट प्राप्त भएको छ ।
नेपाल प्रहरीका लागि रु १ अर्ब २३ करोड ५० लाख ९९ हजार २०० तथा म्यादी प्रहरीका लागि रु ५ अर्ब, ८६ करोड, ३९ लाख ५० हजार बजेट छुट्याइएको हो । उक्त बजेट अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएको प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयका प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
उक्त निर्वाचनका लागि ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
निर्वाचनका समयमा प्रहरी कर्मचारीतर्फ जिल्लाभित्र खटिने प्रहरीले सात दिनका लागि र बाहिर जिल्लामा खटिने प्रहरीले १३ दिनका लागि दैनिक भ्रमण भत्ता पाउनेछन् । उक्त भत्ता सिपहीका हकमा प्रतिव्यक्ति प्रतिदिन रु एक हजार दुई सय हुनेछ । अन्य तहअनुसार भत्ता उपलब्ध हुने जनाइएको छ । उनीहरूले निर्वाचनको मुख्य चार दिन प्रतिदिन रु तीन सयका दरले खाजा खर्च पनि प्राप्त गर्नेछन् ।
नेपाल प्रहरीले निर्वाचन प्रयोजनार्थ कुल १ सय ८० वटा सवारीसाधन खरिद गर्ने भएको छ । प्रहरीले निर्वाचनका लागि कुल १ हजार ४ सय ९४ सवारीसाधन माग गरेको थियो । अर्थ मत्रालयबाट गाडी खरिदका लागि रु ७५ करोड बजेट स्वीकृत भएसँगै प्रहरीले गाडी खरिदको तयारी थालेको छ । प्रहरीले बढीमा रु ५० लाखसम्मका गाडी खरिद गर्न पाउनेछ ।
निर्वाचनमा कुल २ हजार ७ सय ९५ वटा गाडी परिचालन गर्ने योजना प्रहरी प्रधान कार्यालयको छ । निर्वाचनको १२ दिनका लागि एक हजार ५० गाडी भाडामा लिन स्वीकृत प्राप्त भएको छ । भाडाका लागि प्रतिदिन रु १० हजार रकम छुट्याइएको छ । बाँकी अपुग गाडी मर्मत गरेर चलाइनेछ । यसपालि प्रहरीले प्रतिलठ्ठी रु २ सयका दरले १० हजार लठ्ठी खरिद गर्दैछ ।
प्रहरीले ७०० बढी सञ्चार सेट तथा आवश्यक हातहतियारको माग गरे पनि उपलब्ध नहुने भएपछि हतियार बहालगिरीमा प्रयोग गर्ने भएको छ । हाल चालु रहेका सेटसहित अपुग भएमा मोबाइलबाटै सञ्चार सेटको काम गरिने छ ।




