जुम्लामा ५० करोडको स्याउ उत्पादन

`

     २०७९ भाद्र १२ गते ६:४७

काठमाडौँ, १२ भाद्र । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका ८ स्थानीय तहले राम्रो स्याउ फलाएका छन् ।

स्याउ व्यापारीले हतार गर्दा केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । तर पनि वर्षभन्दा उत्पादनमा राम्रो वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ ।

“त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रु ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रु ५० करोड आम्दानी हुन्छ”, उनले भने, “तत्कालै शीत भण्डारको व्यवस्था नहुँदा अझै किसानले बढी लाभ लिन नपाउने अवस्था यथावतै छ ।”

खास स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ । जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु४० र ए ग्रेडको स्याउ प्रतिकेजी रु ६० भन्दामाथि बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?