\आजबाट निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने

`

     २०७९ भाद्र १२ गते ९:०२

काठमाडौँ, १२ भदौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले आजदेखि भदौ १२ मतदाता नामावली अद्यावधिक गर्ने भएको छ। आयोगका अनुसार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्‍न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जानकारी गराएको छ ।

एक सूचना जारी गर्दै आयोगले मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउन भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ।

गत साउन १९ गते सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली संकलनको काम स्थगित गरेको थियो। मतदाता नामावली अद्यावधिक भएपश्चात् आगामी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।  त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?