काठमाडाैं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मोत्सवका अवसरमा काटेको केकको तस्विरले सामाजिक सञ्जाल तताएको छ । आइतबार दिनभर जन्मोत्सवको शुभकामना पाएका प्रधानमन्त्री ओली बेलुका आइपुग्दा भने आलोचित हुनु पर्याे । कारण, जन्मोत्सवका अवसरमा नेपालको नक्सासहितको काटिएकाे केक । प्रधानमन्त्रीले नेपालको नक्सासहितको केक काटेपछि अहिले समाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ ।
बिहानै बालुवाटारमा जन्मोत्सव मनाउँदा पनि पार्टीले जारी गरेको आचारसंहिता पालना नभएको भन्दै ओलीको आलोचना भएको थियो । दिउँसाे प्रधानमन्त्री ओली हेलिकप्टरमा चार्टर गरेर आफ्नो ६९ औं जन्मदिन मनाउन जन्मथलो तेह्रथुम पुगेका थिए । यस अवसरमा आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो । प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ)मा पर्दछ ।

स्थानीय सरकारले बिदा दिनु, घरपरिवारमा मात्र सीमित गर्नुपर्ने जन्मदिनमा राज्यशक्तिको दुरुपयोग गरेको, निजी जन्मोत्सवको कार्यक्रम देशव्यापी बनाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेकै थियो । तर त्योभन्दा बढी आलोचना केकको फोटो सार्वजनिक भएपछि भयो । त्याे केक नेपालको नक्साको आकारको रहेछ ।

प्रधानमन्त्रीको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर नै प्रयाेग गरिएकाे थियाे । संयोगले हेलिकप्टरमा एउटा भिडियाे पनि खिचिएकाे रहेछ । हेलिकप्टरमा खिचिएकाे भिडियाेमा केक प्याक गरेरको बट्टामा कम्पनीको नाम र लोगो पनि छ । त्यसमा ‘बिग बेक’ लेखेकाे देखिन्छ। बेकरी बालुवाटारको चिनियाँ दूतावासअगाडि रहेछ।
प्रधानमन्त्री ओलीको जन्मोत्सवका केकमा नेपालको नक्सा बनाउने आइडिया चाहि कस्को हो ? उक्त बेकरीसँग बुझ्दा ‘अडर’ अनुसार नै केक बनाएको जनाकारी दियाे ।
उक्त केक कसले अडर दियो भने आफूलाई थाहा नहुने एक कर्मचारीले बताए । ‘हामीलाई यहाँ अडर आउछ, त्यहि अनुसार बनाउने हो । जस्ताे अडर आउँ हामीले त त्यस्तै बनाउने हाे, अरु त केहि पनि थाहा हुँदैन,’ बेकरीका एक कर्मचारीले भने ‘हामीलाई जन्मदिनको लागि भनेर खुलाएको पनि थिएन । नेपालको नक्सा भएको केक अडर आएको थियो, हामीले त्यहि अनुसार बनाएका हौँ, कसले अडर दियो त्यो त हामीलाई थाहै भएन ।’

के भन्छ सचिवालय ?
प्रधानमन्त्रीको सचिवालयले केक अन्तर्राष्ट्रिय अभ्यासअनुरुप भएको प्रष्ट पारेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अन्तर्राष्ट्रिय अभ्यासअनुरुप केट काटिएको जिकिर गरे ।
रुसी राष्ट्रपति पुटिन, अमेरिकाका पूर्वराष्ट्रपति ओबामा र भारतीय प्रधानमन्त्री मोदीले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको उदारण दिँदै प्रधानमन्त्री ओलीको जन्मदिनमा पनि त्यहि अन्तर्राष्ट्रिय अभ्यासलाई पालना गरेकाे बताए ।
थापाले केकको विषयलाई लिएर अनावश्यक तरंग पैदा गर्न खोजिएको दाबीसमेत गरे ।




