काठमाडौं, १२ फागुन । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । आज शेर्पा समुदायले २१ सय ४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पोे ल्होसारलाई विभाजन गरिएको छ । आज बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष सुरु भएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।




