करिब १ सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने

`

     २०७९ श्रावण ०९ गते १०:२७

काठमाडौँ, साउन ९ । करिब १ सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले बताएको छ ।

यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो । बैठकमा केही टुंगो नलागेपछि उनले यो समस्यालाई सत्ता गठबन्धन दलभित्र समाधान गर्न सुझाएका थिए । उनले माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको बताए । मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको जनाए ।

मूलतः सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?