काठमाठौँ, साउन ९ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आइतबार साँझ पोखरामा भेटवार्ता भएको छ ।
उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर अब सञ्चालनको तयारीमा रहेकाले भारतको बनारसलगायत विभिन्न सहरमा नियमित उडानमार्फत पोखरालाई भारतसँग जोड्ने चाहना आफूहरूको रहेको भेटपछि प्रमुख आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।
भारतीय सहरमा हवाई उडान सञ्चालनका लागि नेपाल सरकार मार्फत आफूले पहल गर्ने र भारतमा वातावरण मिलाउन उनले राजदूत श्रीवास्तवलाई भेटमा आग्रह गरे ।सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले पोखराको मनोरम प्रकृतिको प्रशंसा गर्दै नेपाल सरकारसँग सहकार्य गर्दै पोखराको पूर्वाधार विकासमा सहयोग रहने प्रतिबद्धता जनाए । पोखरामा कुनै राम्रो परियोजनामा सहयोग गर्न आफूहरूले चाहेको र नेपाल सरकारसँग यस विषयमा आवश्यक सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।




