काठमाडौँ, ३० असार । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले वैदेशिक रोजगारीमा जानेहरुको श्रम अवधि बढाउन माग राखेका छन् ।
श्रम अवधि थप्न नसकेमा श्रमिकले चाहेको बेला तुरुन्तै अवधि नवीकरण गर्ने व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे ।
उनले भने– ‘विदेश जाने क्रम रोकिएकै छैन । अझैपनि हाम्रो नीतिले, कार्यक्रमले उनीहरुलाई नेपालमै रोक्ने र विदेश गएकालाई पनि फर्काउने खालको खास स्पष्ट कार्यक्रमहरु पनि देखिएको छैन । लाखौँ युवाहरुले मुलुक छोडिरहेका छन् । लाखौँ युवाहरुले रगत, पसिना बगाएर रेमिट्यान्स पठाइरहेका छन् । वैदेशिक रोजगारमा पनि विभेदका कुराहरु छ । नेपालको वैदेशिक रोजगारमा विभेद देखियो । मन्त्रालयले लिने नीतिहरूमा । त्यो विभेद के हो भनेदेखि श्रम अवधि सकिएका व्यक्ति र श्रम अवधिमै रहेका व्यक्तिहरुका बीचमा राज्यले विभेदहरु गरेको छ । श्रमिकको विदेशमा मृत्यु भयो भने पनि उनीहरु अंगभंग भएपनि कल्याणकारी कोष लगायतबाट ७ लाख रुपैयाँ आउँछ अहिले अनि पछि बीमा लगायतका अन्य कार्यक्रमबाट १४ लाख रुपैयाँ पाउने स्थिति छ । तर नेपालको श्रम अवधि जम्मा दुई वर्ष । दुई वर्षबाट एक दिन मात्रै कट्यो भने यी सबै सुविधाहरुबाट ऊ वञ्चित हुन्छ । मुत्यु भयो भने पनि केही नपाउने अवस्था छ । दुई वर्षबाट एक दिन कटे पनि मृत्यु वा अंगभंग भएपनि जम्मा २५ हजार रुपैयाँ मात्र पाउने अवस्था छ । त्यो खालको विभेद देखियो ।’
सांसद पन्थले विदेशी भूमिमा मृत्यु हुने श्रमिकहरुको शव नेपाल ल्याउन पनि समस्या हुने गरेको भन्दै त्यसलाई सहज पार्न सरकारको ध्यानाकर्षण गराए ।




