काठमाडौँ, २३ असार । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सबफर्म बिए.२.७५ पुष्टि भएपछि भारत र अन्य केही देशहरूलाई सतर्क गराएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सर्तक रहन अनुरोध गरेका छन् ।
गेब्रेयससले पछिल्लो २ सातामा विश्वभर कोरोनाका नयाँ घटनामा झन्डै ३० प्रतिशतले वृद्धि भएको बताए । ओमिक्रोनको बिए. ४ र बिए.५ का कारण युरोप र अमेरिकामा कोरोनाको लहर चलिरहेको बेला भारत जस्ता देशहरूमा बिए.२.७५ नामक नयाँ सब स्ट्रेन फेला परेको छ ।
बिए.२.७५ पत्ता लागेपछि, डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले ट्विटरमा एउटा भिडियो पोस्ट गरेर नयाँ उपप्रकार फेला परेको बताएकी छन् । यसलाई बिए.२.७५ भनिन्छ । यो पहिले भारतबाट र त्यसपछि अन्य १० देशबाट रिपोर्ट गरिएको थियो । यस उपप्रकारको विश्लेषणका लागि केही अनुक्रमहरू मात्र उपलब्ध छन्, तर यसको स्पाइक प्रोटीनमा केही परिवर्तनहरू देखिएका छन् । त्यसैले यसबारे अहिले नै केही भन्न हतार हुनेछ ।




