खोटाङ, २२ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार स्थित च्यास्मीटार माविमा ‘च्यास्मीटार आकाशगङ्गा’, दोस्रो अङ्कको विमोचन कार्यक्रम सम्पन्न भएको छ । सो पुस्तक हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र बौद्धिक समूह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले विमोचन गरेका हुन् ।

बौद्धिक समूह नेपालले प्रकाशन गरेको १३४ पेजको उक्त पुस्तकमा शिक्षासँग सम्बन्धित लेखलाई प्राथमिकता दिइएको छ। ४० वटा लेख समेटिएको सोही पुस्तकमा बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, अत्याधुनिक तथा प्राविधिक शिक्षण विधि, शिक्षामा सिप र सिर्जना, ऐतिहासिक कथा तथा पर्यटन, सांस्कृतिक क्रान्ति, समाजिक तथा राष्ट्रिय चिन्तन, सामाजिक विकास, स्वतन्त्रता, देशभक्ति, मातृथलो, स्वदेशी पेशा अनि पहिचान, भएका स्रोत तथा साधनहरूको संरक्षण लगायतका विषयमा चर्चा गरिएको छ । साथमा, प्रेमपत्र, कविता, गजल आदि सम्बन्धि सिर्जनशील रचना अध्ययन गर्न सकिन्छ ।

‘च्यास्मीटार आकाशगङ्गा’ विमोचन कार्यक्रममा मेयर राई, वडाध्यक्ष भुपालसिं राई, नगरका शिक्षा शाखा प्रमुख पदम कार्की, विव्यास अध्यक्ष, विभिन्न स्कुलका प्रअ लगायतले बधाई तथा शुभकाना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम सामाजिक एवम् शैक्षिक हिसाबले अर्थपूर्ण रहेको वक्ताहरूको भनाई रहेको थियो भने भविन्द्र कुमार राई र वहाँले नेतृत्व गरेको बौद्धिक समूह नेपालको कार्यक्रमको निरन्तरताको कामना पनि वक्ताहरूले गरेका थिए ।

‘बिशेष गरी स्थानीय स्तरमा भएका विद्यालयहरूको शैक्षिक अवस्थालाई उकास्दै विद्यार्थीहरूलाई सु–शिक्षित बनाउन त्यस ठाउँका अभिभावक, स्थानीय सरकार, सम्बन्धित क्षेत्रमा संलग्न व्यक्ति एकजुट भई पूर्णरूपमा मिलेर अघि बढ्न आवश्यक छ’, अध्यक्ष राईले भने।

‘बौद्धिक समूह नेपाल’ले तुवाचुङ च्यास्मीटार क्षेत्रको खास गरी शैक्षिक विकासमा योगदान गर्ने हिसाबले विभिन्न कालखण्डमा त्यस क्षेत्रका बालबालिकाको प्रभावकारी सिकाई सम्बन्धी कार्यशाला गोष्ठी देखि शिक्षण सिकाइमा ठोस् सहयोग पुग्ने काम गर्दै आएको छ । अध्यक्ष राईको अनुसार ‘च्यास्मीटार आकाशगङ्गा’ को प्रकाशन पनि त्यसै उद्देश्यको लागि हुँदै आएको हो ।
कार्यक्रम सञ्चालन भने रसिक सम्यकले गरेका थिए ।



