झापा,१० फागुन। मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा फ्ल्याट नै भाडामा लिएर यौन धन्दा सञ्चालन गरेको पाइएको छ । पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि फ्ल्याट नै भाडामा लिएर यौन धन्दा सञ्चालन गर्न थालिएको बताइएको छ ।
योन धन्दामा संलग्न तीन जना प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । नियन्त्रणमा लिएका उनीहरु मेचीनगर–६ का ४८ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवकोटी, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मोरङ घर भइ मेचीनगर बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल रहेका छन्।

यौनजन्य गतिविधिविरुद्ध निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको टोलीले २० र २१ वर्षकी दुई जना महिलालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछका क्रममा उनीहरुले आफ्नो घर भक्तपुर र मोरङ भएको बताएका थिए ।
उनीहरुमार्फत प्रहरी यौनधन्दा सञ्चालन भइरहेको फ्ल्याटसम्म पुगेको जनाइएको छ । यो समूहले युवतीहरुलाई अन्य विभिन्न होटलमा पनि पठाउने गरेको पाइएको जनाइएको छ ।
नियन्त्रणमा लिएका उनीहरुमाथि थप अनुसन्धान गरिने प्रहरीले बताएको छ।




