स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको प्रचण्डको दाबी

`

     २०७९ आषाढ ०९ गते २:२०

काठमाडौँ, ९ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् ।

‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन्,’ प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवर्तन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?