काठमाडौँ, २७ जेष्ठ । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकार संघीयताको अभ्यासलाई कमजोर बनाउन लागिपरेको आरोप लगाउँदै संसदमा आक्रोश पोखेका छन्।
आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले नीति तथा कार्यक्रम रनभुल्लमा आएको दाबीसमेत गरेका छन्। ‘यो सरकार मिलेर खान मात्रै बनेको हो भन्ने जगजाहेर छ’ भन्दै मन्तव्य सुरू गरेका राईले भने, ‘यो सरकार आफैं रनभुल्लमा छ। म कहिले आएँ, कहिलेसम्मका लागि आएँ भन्ने पनि टुंगो छैन। मलाई ताजुब लाग्यो।’
उनले सरकारलाई सोधे, ‘तपाईँ सरकारमा आएपछि कहाँ– कहाँ प्रदेश संरचनाको जग हाल्नुभयो? कुन ऐन बनाउनुभयो? कुन पूर्वाधार विकासको काम गर्नुभयो? तपाईँ आएपछि के गर्नुभयो? पहिलेका सरकारले गरेको काम घिनलाज नमानी मैले गरेको भनेर हुन्छ? अफ्ठयारो हुन्न?’
विद्यार्थी लक्षित ‘म अघि बढछु’ कार्यक्रम बन्द गरेकोमा पनि उनले सरकारको आलोचना गरे। ‘प्रहरीले डामेर छोडेका व्यक्तिलाई नियुक्त गरेर रमिता देखाएको किन?’
उनले अहिलेको सरकारले संघीयताको जग भत्काउन खोजेको आरोप लगाएको छ ।
उनले सरकारले कर्मचारीहरुबाट पैसा असुली गरेर, धम्क्याएर सरूवाको आतंक मच्चाएको आरोप पनि उनले लगाएका छन्।




