एजेन्सी, जेष्ठ १८ । दक्षिण कोरियामा बुधबार स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो ।
निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद सदस्यहरू निर्वाचित हुनेछन भने सात जना सांसद पनि चयन हुनेछन् । स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।
मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।
कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो ।
बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनौट हुनेछन ।
त्यसैगरी नगरपरिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ ।
दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो ।




