
२०७६, मंसिर २, सोमवार सर्वोच्च मिडिया संवाददाता
प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपालको भूमि फिर्ता लिने बताएका छन् । संवादको माध्यमबाट सरकार यो काम गर्न सक्षम रहेको उनले उल्लेख गरे ।
नेपालको जमिन विदेशीलाई किञ्चित पनि मिच्न नदिने भन्दै ओलीले भने, ‘अहिलेको सरकार नेपाली जनताको सरकार हो, नेपाल राष्ट्रको सरकार हो, देशभक्त सरकार हो । त्यस कारण यो सरकारले आफ्नो भूमि एक इन्च पनि मिच्न दिँदैन ।’
प्र. म. ओलीले हामी नेपालीलाई कसैको पनि जमिनको लोभ नभएको भन्दै भारतलाई आफ्नो सेना फिर्ता लान आग्रह गरे, ‘हामी नेपाली हरूलाई अरूको जमिन अतिक्रमण गर्नु छैन । हामी अरूको कुरामा लोभ गर्दैनौँ । तर हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजानुस्, हाम्रो जमिनमा सेना नराख्नुस्, हाम्रो आग्रह छ ।’
नेपाली सेना विश्व शान्तिको लागि लड्दै आएको स्मरण गर्दै ओलीले भने, ‘नेपाली सेनाको शान्ति सेना भएर विश्वमा शान्ति स्थापना गर्नका लागि बलिदान भइरहेको छ । हामी विश्व शान्तिको पक्षमा छौँ, हाम्रो छिमेकीहरूसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा छौँ ।’

अहिलेको नेपाल सरकार संवाद गर्न सक्षम रहेको भन्दै त्यसैको माध्यमबाट सीमासम्बन्धी समस्या टुङ्गो लगाउने बताए । ‘संवादको माध्यमबाट समस्या समाधान गर्ने पक्षमा छौँ र यसो गर्न हामी सक्षम छौँ भन्ने हाम्रो विश्वास छ । अहिलेको सरकार संवाद गर्न नसक्ने, कुरा गर्न नसक्ने, त्यस्तो सरकार होइन । इतिहासले देखाइसकेको छ, यो सरकार राष्ट्रिय हितको पक्षमा लड्न सक्छ । त्यस कारण म सबैलाई आग्रह गर्न चाहन्छु, सरकारले संवादको माध्यमबाट यो सीमा सम्बन्धी समस्या समाधान गर्छ, हाम्रो भूमिबाट विदेशी सैनिक फिर्ता गराउँछ ।’
नक्सा सच्याएर अहिलेको भूमि सम्बन्धी वास्तविक समस्या हल नहुने भन्दै ओलीले भने, ‘कतिपय मान्छेहरूले नक्सा सच्याउनु परो भन्या छन् । नक्सा सच्याउने कुरा होइन, नक्सा सच्याउन त अहिले सकिन्छ, भूमि फिर्ता गर्ने कुरा हो । नक्सा त प्रेसमा छाप्दा भइहाल्छ नि । नेपाल र नेपालीहरू भूमि फिर्ता लिन सक्छन्, सक्षम छन्, सक्नुपर्दछ ।’
विरोधको लागि विरोध गरेर देश र जनतालाई केही फाइदा नहुने तर्क गर्दै प्रधानमन्त्रीले भने, ‘अहिले दुई किसिमले सरकारको विरोध भइरहेको छ । एउटा, आइडियोलोजिकल पूर्वाग्रहमा, वैचारिक पूर्वाग्रहमा आधारित छ । यो भनेको कम्युनिस्ट सरकार छ त्यसैले जसो गरे पनि विरोध गर्नुपर्छ भनेर, राम्रो गर्दा पनि विरोध भइरहेको छ । अर्को, मैले केही पाइन, मैले केही त पाउनुपर्ने, मैले किन समर्थन गर्ने भनेर विरोध छ । यो दुइटै विरोध ठिक छैन । यस्तो आत्म केन्द्रित विरोधको देश र जनतासँग कुनै सम्बन्ध छैन । विरोधको लागि विरोध भइहेको छ ।’
नेकपाको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको प्रशिक्षण कार्यक्रमलाई आइतवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीको बोली अक्षरशः व्यवहारमा देखियोस् ।




