एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा सौन्दर्य युवती बलात्कार घटनाबारे तिब्र छानविन हुने

`

     २०७९ ज्येष्ठ ०६ गते ८:२८

काठमाडौं, वैशाख ६ । आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरको नेतृत्वमा छानविन समिति गठन भएको छ । समितिमा एसपी कृष्ण कोइराला, डीएसपी कोपिला चुडाल, हरि बस्नेत र इन्स्पेक्टर सपना खड्का सदस्य छन् । बुधबार एक युवतीले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लीप सार्वजनिक गर्दै १६ वर्षको हुँदा आफूमाथि एक सौन्दर्य प्रतियोगिताका सञ्चालकले बलात्कार गरेको खुलासा गरेकी थिइन् । मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका मनोज पाण्डे नामक ती व्यक्तिले भिडियो समेत खिचेर ब्ल्याकमेल गर्दै ६ महिनासम्म जबरजस्ती करणी गरेको उनको भनाइ छ ।

जबरजस्ती करणी गरेको विषयमा उनले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई पनि बताएको खुलाएकी थिइन् । तर उनले न्यायका लागि सहयोग नगरेको उनले बताएपछि सुब्बाको पनि आलोचना भइरहेको छ । सुब्बाले त्यसवेला उनको कुरालाई सामान्यरुपमा लिएकोमा माफी मागेकी छन् । बलात्कारको मुद्दामा एक वर्षे हदम्याद रहेका कारण कानूनी प्रक्रिया अघि बढाउन जटिलता रहेको प्रहरीको भनाइ छ । शुक्रबार युवाले बलात्कारको कानूनमा रहेको हदम्याद हटाउन माग गर्दै बालुवाटारमा धर्ना पनि दिएका छन् । तर अन्य विभिन्न ऐनमा पनि टेकेर मुद्दा चलाउन सक्ने अवस्था रहेका तर्फ पनि कानूनी परामर्श लिने काम भइरहेको एसएसपी कुँवर बताउँछन् ।

कुँवर नेतृत्वको समितिका सदस्य एसपी कोइराला नेतृत्वको टोलीले शुक्रबार पीडितको घरमा पुगेर भेट गरेको छ । काउन्सिलरसहितको टोलीले उनीसँग कुराकानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?