सोलुखुम्बु, २४ बैशाख । वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि यतिबेला देश पुरै निर्वाचनमय बनेको छ । देशको सम्पूर्ण स्थानीय तहका जनता यतिखेर पाँच वर्षका लागि आ–आफ्ना गाउँ/नगरलाई सुशासन मार्फत समृद्धि तर्फ अगाडी बढाउने सक्षम नेतृत्व चयनको चपेटामा छन् ।
सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकाका जनता पनि कुन नेतृत्वलाई जिताएर काम गर्ने अवसर दिए आफ्नो गाउँपालिकाको कायापलट होला भनेर भारी वहशमा केन्द्रित भएका छन् । केन्द्रीय स्तरमा भएको सत्ता गठबन्धनकै निरन्तरता स्वरुप गाउँपालिकामा पनि उमेद्वारहरू प्रस्तुत होलान् भन्ने जनताले सोचेका तर माओवादी र नेकपा एसबिच मात्रै गठबन्धनमा र बाँकी पार्टीका उमेद्वारहरू भने एक्लाएक्लै चुनावी मैदानमा उत्रेको अवस्था छ ।
उमेद्वार कस्तो हो भन्ने वहशमा उत्रनुभन्दा पहिला जनताले उक्त उमेद्वार कुन पार्टीबाट उठेको हो भन्ने विषयमा ध्यान केन्द्रित गर्ने गर्छन् जुन स्वभाविक हो । हाम्रो देशमा देश र जनतालाई केन्द्रमा राखेर निष्पक्ष विश्लेषण गर्ने तहका सचेत नागरिकको एउटा सानो तप्का छ । उक्त तप्का ठुलो भएको भए हाम्रो देश यसरी युगौँ पछाडि धकेलिएर घस्रिनु पर्ने थिएन ।
ती सचेत तप्काको नजरमा नेपाली काँग्रेस देशमा राष्ट्रघाती सम्झौता, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद आदि कुरुप व्यवस्थाको शुत्रपात गर्ने संस्थापक पार्टी हो । नेपाली काँग्रेसले देशको लागि गरेका थुप्रै राम्रा काम भए पनि ती सचेत नागरिकको मनमा यो पार्टीको नाम सुन्नासाथ यहीँ प्रभाव उत्पन्न हुने गर्छ ।
लोकतन्त्रका सबभन्दा ठुला न्यायधीश जनता हुन् । यस्तो अवसरमा आम जनताले कसैको अनावश्यक डर, धम्की, त्रास र प्रलोभनमा नपरी निष्पक्ष चिरफार एवम् विश्लेषण गर्दै उच्च विवेक मार्फत समावेशी लोकतन्त्रको मान्यता अनुरुप सक्षम नेतृन्व चयन गर्न सकेमात्र गाउँपालिकाको समृद्ध भविष्य सुनिश्चित हुनेछ ।
ती सचेत तप्काको नजरमा नेकपा एमाले पार्टी नीति सिद्धात्न विहीन केपी ओलीको मनोमानी तजबिज र हनुमान प्रवृत्तिमा चल्ने पार्टी हो । ओली शुरुमा हक्की, देश र जनता केन्द्रित स्वाधीन राजनीतिका संभावित कुशल नेता भनेर आशा गरिएपनि सत्तामा आएपछि उनको त्यो हक्कीपन हठी, सनक, स्वार्थ, तानाशाही, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिको रुपमा विकास भएको कुरा सर्वविदितै छ । हुनपनि उनी ज्यान मारेको उद्योगमा पन्ध्र वर्ष जेल बसेर उक्त बदनियतलाई राजनीतिक रङले धोइपखाली राजनीतिक प्रवाहमा आएका थिए । उनी अहिलेसम्मका राजनीतिक उपलब्धीमाथि खतरा उत्पन्न गर्ने खलनायक हुन् । सत्ता गठबन्धन यसैको उपज हो । नेकपा एमालेभित्रकै उच्च तहका नेताहरू यतिखेर ओलीको उन्माद अति भएकोले उनलाई यो स्थानीय निर्वाचनले साइजमा ल्याउन आवश्यक रहेको र ल्याउने जिकिर गरिरहेका छन् ।

दुरदर्शी र निष्पक्ष विश्लेषण गर्ने विश्लेषकहरूका अनुसार नेकपा माओवादी शोषित, पिडित, निमुखा, पिछडिएका आदिवासी, जनजाति, मधेशी, महिला, शिल्पी (दलित) लगायतका जनतालाई समान हक, अधिकार र पहिचानको हिसाबले उत्थान गर्न संघर्षरत पार्टी हो । संविधानतः समानुपातिक, समावेशी, सङ्घीय लोकतन्त्रका प्रणेता भनेकै माओवादी पार्टी हो । अन्य पार्टीको तुलनामा यो पार्टी असल पार्टी हो । यहीँ पार्टीको अगुवाइमा नेपाल लोडशेडिङ मुक्त देश बन्न सफल भएको कुरा जनताको आँखाबाट छिपेको छैन । तर यो पार्टीले अहिलेसम्म स्पष्ट बहुमत ल्याएर देशमा थप आमूल परिवर्तनकारी कार्य गर्न नसक्दा आम जनतामा यो पार्टीलाई हेर्ने नजर पनि अरु पार्टीलाई जस्तै सामान्यीकरण भएको छ ।
यसै सन्दर्भमा जब कुनै नेतृत्वको कुरा आउँछ, उक्त नेतृत्व कुन राजनीतिक ब्याकग्राउण्ड या कुन पार्टीबाट आएको हो भन्ने कुराबाट नै वहश शुरु हुने गर्दछ । अहिलेको सन्दर्भमा पार्टी कम र नेतृत्व सम्हालेको व्यक्ति कस्तो हो भन्ने आँकलनले बढी स्थान जमाउन थालेको छ । नेचासल्यान गाउँपालिकाको सन्दर्भमा पनि नेतृत्वमा अगाडी आएको व्यक्तिको स्वभाव, व्यवहार, कार्यशैलीबारे जनता यतिखेर गम्भीर वहशमा उत्रेका छन् । हेरौँ, नेचासल्यान गाउँपालिकाका जनताको नजरमा को उमेद्वार कस्ता हुन्ः
धनजन राई
धनजन राई नेपाली काँग्रेको तर्फबाट उठेका गाउँपालिका अध्यक्षका उमेद्वार हुन् । उनी अघिल्लो स्थानीय निर्वाचनमा पनि नेचासल्यान गाउँपालिकाबाटै उठेका थिए । तर, आफ्नै पार्टी नेपाली काँग्रेस भित्रबाट बागी उमेद्वार उठेपछि उनी हारेका थिए । यतिखेर गाउँपालिकालाई अझ मजबुत गतिमा अगाडी बढाउनुपर्ने जनदवाव देखा परेको छ । यो सन्दर्भमा धनजन राईको समग्र इतिहास हेर्दा स्वच्छ छविको देखिएकाले आशा लाग्दो गाउँपालिकाका अध्यक्षको रुपमा उनको जितको आँकलन भइरहेको छ ।

भुपेन्द्र कटेल
भुपेन्द्र कटेल माओवादी पार्टीबाट नेचासल्यान गाउँपालिकाका अध्यक्षका उमेद्वार हुन् । नेपाली समाज एउटा रुढीवादी मनोरोगको ऐँजेरुले जीर्ण छ । जस अनुसार मानिस ६०–७० वर्ष पुगेर केश फुलेपछि मात्रै पाको हुन्छ भन्ने विश्वास गरिन्छ । यो कोणबाट हेर्दा उनी कलिला नेता हुन् । यसबिच अग्रगामी सोच पनि नपलाएको भने होइनः साठी पुगेपछि त वृद्धवृद्धा पो भइन्छ, त्यसपछि त गाउँपालिका हाँक्न होइन वृद्धभत्ता खाँदै आराम गर्नुपर्ने अवस्था आउँछ । गाउँपालिका हाँक्न यस्तै युवा, हातपाउमा बल भएका, जोश जाँगरले भरिएका भरिला नेतृत्वलाई पो जिम्मेवारी सुम्पनुपर्छ भन्ने दृष्टिकोण बाट पनि वहश भइरहेको छ । यो हिसाबले भुपेन्द्र कटेल अर्का द¥हो संभावना बोकेका उमेद्वार हुन् ।

डिल्ली बहादुर राई
डिल्ली बहादुर राई नेकपा एस र नेकपा माओवादी बिचबाट नेचासल्यान गाउँपालिका उपाध्यक्ष पदमा उठेका साझा उमेद्वार हुन् । यतिखेर नेचासल्यान गाउँपालिकाको स्थानीय निर्वाचनको सन्दर्भमा हुने गरेको वहशको केन्द्रमा उनी छन् । कतिपयले उनलाई आक्रामक नेता नभएको आरोप लगाउने गरेका छन् । यद्यपी केपी ओली प्रवृत्तिको नेकपाको प्रतिगामी कदमविरुद्ध विद्रोह गरेको नेकपा एसमा उभिएर उनले आफूलाई अग्रगामी राजनीतिक नेताको रुपमा उभ्याएकोमा भने धेरैले प्रशंसा गर्ने गरेका छन् । निकै लामो समयदेखि निष्ठा र धैर्यतापूर्वक विभिन्न राजनीतिक जिम्मेवारीमा रहेर राजनीति गरेका डिल्ली राई मिजासिला, सरल र सकारात्मक स्वभाव, इमान्दार, डाउन टु अर्थ (जनताको सुखदुःखको साथी बन्न सक्ने) जीवनशैली, कुनै जनता समस्यामा पर्दा आफ्नै समस्या जस्तो मानेर समाधानमा लागि पर्ने बानी, निष्ठावान व्यक्तित्व, कसैलाई घोचपेच नगर्ने, सहनशीलता, गाउँपालिकाका समग्र विकासका अविछिन्न चिन्तक आदिका कारण उनलाई अत्यन्त योग्य नेताको रुपमा आम जनताले मान्ने र उनी निर्वाचित हुनैपर्ने वहश यतिखेर उर्लेको छ ।

बिना राई
विना राई नेचा सल्यान गाउँपालिकामा काँग्रेसको तर्फ बाट उपाध्यक्ष पदमा उठेका उमेद्वार हुन् । नेचासल्यान गाउँपालिकाको निर्वाचन सम्बन्धि वहशमा उनको पनि चर्चा छ । खास गरी महिला उमेद्वारको हिसाबले आम महिलाको प्रतिनिधित्व गर्दै उनलाई निर्वाचित गर्नुपर्ने तर्क अगाडी सारिएको छ ।

राजन राई
राजन राई नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का नेकपा एमालेका तर्फबाट उठेका अध्यक्षका उमेद्वार हुन् । उनी सोही वडाका निवर्तमान अध्यक्ष समेत हुन् । उनलाई अघिल्लो निर्वाचनमा निकै आशाका साथ जनताले निर्वाचित गरेका थिए । उनमा अझ परीणाम स्पष्ट देखिने गरी काम गर्न, जनताको वास्तविक समस्या पहिचान र निदानको क्षेत्रमा अझै योग्यता बढाउनुपर्ने लगायतका शुभेच्छाको दबाब बढ्दै आएको छ । तथापी अघिल्लो निर्वाचनमा आफ्नै पार्टीका अन्य निर्वाचित सदस्यहरूको भ्रष्ट कदमको घोर भत्र्सनामा खरो उत्रेर, कुनै किसिमको भ्रष्टाचारमा नमुछिएर स्वच्छ छवि बनाएका उनी असल नियत राखेर सक्दो राम्रो काम गर्ने प्रयासमा निरन्तर रहेर गरेका कामहरूको हिसाबकिताब भने जनताले मनमा राखेका छन् । यसो हुँदा उनी अझै आशा लाग्दा सशक्त उमेद्वार हुन् ।

तिलक राई
तिलक राई अर्का उदाउँदा नेता हुन् । उनीपनि नेचासल्यान गाउँपालिका वडा नम्बर ५ का नेकपा माओवादी तर्फबाट अध्यक्ष पदमा उठेका उमेद्वार हुन् । उनी वैदेशिक रोजगारीमा नलागी गाउँठाउँमै कृषि उद्यममा लागेका उद्यमशील युवा उमेद्वार हुन् । इमान्दार र स्वच्छ छविका उनी अग्रगामी विचार र गाउँपालिका निर्माणको सबैभन्दा राम्रो खाका बोकेको नेकपा माओवादी र नेकपा एसको गठबन्धनका युवा उमेद्वारको हिसाबले अगाडी आउनुपर्ने वहश चर्केको छ ।

सन्तु राई
अर्का संभावना बोकेका युवा उमेद्वारको रुपमा सन्तु राईको नाम पनि उत्तिकै लिने गरिएको छ । उनी काँग्रेस बाट नेचासल्यान गाउँपालिका वडा नम्बर ५ अन्तर्गतै अध्यक्षको पदमा उठेका फरक क्षमताका उमेद्वार हुन् । फरक क्षमताका, स्वच्छ छविका, इमान्दार एवम् कर्मठ युवा उमेद्वारको हिसाबले उनी निर्वाचित हुनुपर्ने चर्चाले उनलाई वहशको केन्द्रमा तानेको छ ।

वियस राई
सिर्जनशील लेखक तथा नेपाल प्रहरीमा क्रियाशील रहेका वियस राई जागीर छोडेर राजनीतिमा लागेका हुन् । उनी माओवादी पार्टीको तर्फबाट नेचासल्यान गाउँपालिका वडा नम्बर २ अन्तर्गत अध्यक्षको पदमा उठेका उमेद्वार हुन् । खाइपाइ आएको जागीर छोडेर जनताको सेवा गर्ने हेतुले राजनीतिमा लागेका कारण यी सिर्जनशील नेतालाई एक जना आशा लाग्दो नेताको रुपमा हेरिएको छ ।

उद्योग राई
उद्योग राई नेपाली काँग्रेसका युवा नेता हुन् । उनी नेचासल्यान गाउँपालिकाका आकाङ्क्षी उमेद्वार भएपनि यो स्थानीय निर्वाचनमा कुनै पदका उमेद्वार होइनन् । अघिल्लो निर्वाचनमा बागी उमेद्वारलाई सघाएकाले उनलाई उमेद्वारीमा पार्टीले छनोट नगरेको अनुमान गरिएको छ । बेला बेलामा अनावश्यक हठी हुने, भुइँतहका जनतासँग राम्ररी घुलमिल हुन नसक्ने तर ट्यालेन्ट नेताको रुपमा उनको चर्चा हुने गर्छ । जुनसुकै पदमा उठेका भएपनि उनको जित सुनिश्चित थियो भन्ने कुराले यतिखेर उनलाई वहशमा तानेको छ । जे होस्, उनी आफू आबद्ध पार्टीलाई पनि निष्पक्ष हिसाबले हेर्न सक्ने, परिवर्तित राजनीतिका पक्षधर, सच्चा राजनीतिको अभ्यास हुनुपर्ने मान्यता बोकेका आशा लाग्दा नेता हुन् । उनी जस्ता नेताबाट समाजले फाइदा लिन सक्नुपर्ने भने देखिन्छ नै ।

देशभर जस्तै यतिखेर नेचासल्यान गाउँपालिकाको स्थानीय राजनीतिक गरमागरम अर्थपूर्ण रहेको छ । लोकतन्त्रका सबभन्दा ठुला न्यायधीश जनता हुन् । यस्तो अवसरमा आम जनताले कसैको अनावश्यक डर, धम्की, त्रास र प्रलोभनमा नपरी निष्पक्ष चिरफार एवम् विश्लेषण गर्दै उच्च विवेक मार्फत समावेशी लोकतन्त्रको मान्यता अनुरुप सक्षम नेतृन्व चयन गर्न सकेमात्र गाउँपालिकाको समृद्ध भविष्य सुनिश्चित हुनेछ ।




