एजेन्सी, ६ फागुन । चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड–१९ को कारण विश्व त्रसित बनेको छ। चीनको वुहान सहरमा तीव्र गतिमा भाइरस फैलिरहेको समयमा अस्पतालमा शय्याको अभाव रहेको जनाइएको छ। कतिपय बिरामीले उपचार नपाएको समाचार बीबीसीमा छ ।
यस्तै बिरामीको चाप रहेको वुहानमा त्यहाँका दुई बासिन्दाले आफ्ना आफन्तका लागि अस्पतालका शय्या पाउन गरेका प्रयाससम्बन्धी कारुणिक कथा बीबीसीलाई सुनाएको बताइएको छ । चीनका हुआङको बाल्यकालमै आमाबुवाको निधन भएपछि उनका हजुरबुवा र हजुरआमाले पालनपोषण गरेका थिए।उनका असी वसन्त पार गरेका हजुरबुवा र हजुरआमाका लागि सक्दो सेवा गर्ने हुआङको एक मात्र इच्छा थियो। तर १५ दिनमै कोरोनाभाइरसका कारण उनका हजुरबुवाको निधन भयो र हजुरआमा अहिले गम्भीर अवस्थामा छिन्।
हुआङका हजुरबुवा र हजुरआमामा ज्यानुअरी २० तारिखमा श्वासप्रश्वासको समस्या देखिन थाल्योको थियो। सार्वजनिक यातायात ठप्प हुनेगरी ज्यानुअरी २३ तारिखदेखि वुहान बन्दको अवस्थामा गएपछि ज्यानुअरी २६ तारिखसम्म उनीहरूलाई अस्पतालसम्म पुग्न हम्मेहम्मे भयो।उनीहरूलाई नयाँ कोरोनाभाइरसले सङ्क्रमित बनाएको कुरा ज्यानुअरी २९ तारिखमा थाहा भयो। तर त्यसको तीन दिनपछि मात्रै उनीहरू अस्पतालमा भर्ना हुन पाए।

अस्पताल बिरामीले खचाखच भएको कारण त्यहाँ कुनै शय्या खाली थिएन। उनीहरूले करिडोरमा मात्रै ठाउँ पाए। हुआङले अस्पतालका कर्मचारीहरूलाई हारगुहार गरेपछि एउटा लामो कुर्सी र दोबार्न मिल्ने एउटा शय्या पाए। हजुरबुवा बितेको अघिल्लो रातसम्म हुआङ हजुरबुवा र हजुरआमासँगै करिडोरमा थिए। उनकी हजुरआमा अस्पतालमा जीवन र मरणको दोसाँधमा छिन्।
चीनमा धेरै बिरामीहरूले आफन्तको साथ नै नपाई ज्यान गुमाएका र परिवारका सदस्यले अन्तिम पटक भेट्न पनि नपाएको खबर बीबीसीमा छ ।




