काठमाडौँ, १६ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार नेपालमा प्रतिबन्धित गरिएको इनर्जी ड्रिङ्स बालाजु-बसपार्क क्षेत्रबाट ६५ क्यान बरामद गरेको छ।
क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थको बिक्री-वितरण तथा कारोबार रोक लगाइएकोमा खुलेआम बिक्री भइरहेको सूचना पाएपछि विभागले बजारबाट बरामद गरेको हो।
काठमाडौं महानगरपालिकामा रहेका एरिका लिक्वेयर सप, गोर्खाली सञ्जिव किराना तथा फलफूल पसल, स्वर्गद्वारी कोल्ड स्टोर, जसवाल जुस एण्ड फ्रुट, रिजाल गुदपाक भण्डार र एमजी ग्रुप मल्टिप्रपोज कम्पनीबाट सो परिमाणको रेडबुल बरामद गरेको विभागले जानकारी दिएको छ।
विभागको प्रारम्भिक अनुसन्धान अनुसार उक्त रेडबुल भारतबाट ल्याइने गरेको पाइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले बताए। प्रतिबन्ध गरेको रेडबुल तराईंका भन्सारबाट छलेर भ्यान तथा रात्रि बसबाट काठमाडौंसम्म ल्याउने गरेको पाइएको छ।
२०७६ असार २ मा प्रकाशित राजपत्रमा क्याफिनयुक्त शक्तिवर्द्धक पेय पदार्थ बिक्री-वितरणमा रोक लगाइएको हो।
बजारमा भइरहेको अस्वभाविक मूल्य वृद्धिबारे विभाग बढी केन्द्रीत भएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले जानकारी दिए।
विभागले चैत महिनामा एक सय ५० वटा फर्ममा अनुगमन गरेको छ। त्यसमध्ये, हार्डवेयरका १३, खाद्यवस्तुका २१, अन्य ६, तरकारी तथा फलफूलका ५, किराना पसलका ४, ग्यासका तीन, मार्ट/मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तिजन्यका दुइटा फर्म गरेका छन्।
त्यस्तै, जुत्ता चप्पलका एक, फर्निचर एण्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेको छ।
अनुगमन गरिएका फर्ममध्ये ७४ वटालाई जरिवाना गरिएको विभागको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार दुइटा सामान्य अवस्थामा छन् भने २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको छ।
त्यस्तै, ३० वटा फर्मलाई आवश्यक कागजात माग गरिएको विभागले जानकारी दिएको छ।




