काठमाडौँ, १३ बैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध मंगलबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
डिभिजन वन कार्यालय, मुगुका वन अधिकृत भरतबहादुर बुढा थापा, सब-इन्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब-इन्जिनियर (सब-ओभरसियर) रवीन्द्र शाही, निर्माण उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
सोरू गाउँपालिका-१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
त्यस्तै, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरमा आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता भण्डारीले बताए।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना मागदाबी गरेको छ।




