काठमाडौँ, ८ बैशाख । ७७ वटै जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन गृह मन्त्रालयलाई वाणिज्य विभागले पत्राचार गरेको छ ।
आन्तरिक र बाह्य कारणले बजारमा परेको प्रभावबाट उपभोक्ता ठगिन सक्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारीमार्फत बजार अनुगमनलाई तीव्र पार्न विभागले मन्त्रालयलाई पत्राचार गरेको हो ।
विभागले मात्रै सबै ठाउँको अनुगमन गर्न सम्भव नरहेको भन्दै संवैधानिक जिम्मेवारी बमोजिम गृहलाई आग्रह गरिएको विभागका महानिर्देशक लिला प्रसाद शर्माले जानकारी दिए ।
बजार अनुगमन चुस्त बनाउन विभागले थप जनशक्ति व्यवस्था गरेर अनुगमन टोली ४ पुर्याएको उनको भनाइ छ ।
निर्वाचन अघिको बजार अनुगमन थप बढाउन मन्त्रालयसँग जनशक्ति माग गरिएको पनि उनले बताए । विभागले आफ्ना सेवाहरुलाई क्यास लेस, फेसलेस र पेपर लेस बनाउन गृहकार्य थालेको उनको भनाइ थियो ।




