प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति विवरण अझै सार्वजनिक गरेन

`

     २०७८ चैत्र ३० गते ४:२३

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ९ महिना पूरा हुँदा पनि प्रधानममन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण भने सार्वजनिक गरेको छैन ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले सोही दिनमा ४ जनालाई मन्त्री नियुक्त गरेका थिए । त्यसपछि विभिन्न चरणमा गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । ५ दलको समर्थनमा बनेको गठबन्धन सरकारमा २१ मन्त्री र ३ राज्यमन्त्री छन् ।

जानकारहरुका अनुसार मन्त्रिपरिषदले निर्णय नगरेपनि प्रधानमन्त्री-मन्त्री हुनुभन्दा अघि र विदा भएपछिको सम्पत्ति सार्वजनिक गर्नु स्वयंको पनि दायित्व हो । २०७४ को संसदयि चुनावपछि बनेको केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो ।

तर, सरकार हेरफेर र विस्तारका क्रममा थपिएका मन्त्रीहरुको विवरण सार्वजनिक भएनन् । तर, शेरबहादुर तामाङ लगायतले मन्त्री नियुक्त भएपछि स्वतःस्फुर्त रुपमा आफैंले त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

सरकारले २०७५ असार २० गते प्रकाशित गरेको राजपत्रअनुसार प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायकमन्त्रीले आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाउनुपर्छ ।

यस्तो विवरण दुई महिनाभित्र राष्ट्रिय सतर्कता केन्द्रमा पठाउनुपर्छ । तर, सार्वजनिक गर्न कानुनी रुपमा बाध्यकारी व्यवस्था भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?