काठमाडौं, ५ फागुन । कोभिड १९ (कोरोना भाइरस) बाट मृत्यु हुनेको संख्या १७ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक सय जनाको मृत्यु भएसँगै चीनमा १७ सय ६५ र चीन बाहिरका चार देशमा एक-एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको जनाइएको छ ।
गएको २४ घण्टामा कोभिड १९ का २ हजार ४८ नयाँ बिरामी भेटिएसँगै चीनमा संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ ।कोरोना सुरु भएको हुवेईमा मात्र १६९२ जनाको ज्यान गएको बताइएको छ । यसैबीच ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै पानीजहाजमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सँख्या ३ सय ५५ पुगेको छ ।




