काठमाडौँ, २३ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको बिकास र समृद्धिका लागि उद्योगी व्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएको हो ।
ओलीले हामीले हाम्रो आवश्यकताको सामान नेपालमा नै उत्पादन भएको हुनुपर्ने बताए । “हामीले कच्चापदार्थ होइन, रुपान्तरित र प्रशोधित गरेको सामान बजारमा पठाउनुपर्दछ”, उनले भने, “कच्चा होइन, प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान हामीले उत्पादन गर्नुपर्दछ ।”
त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रिय आकांक्षा अनुरुप समृद्धि र बिकास चाहेको उल्लेख गर्दै यसका लागि उद्यम र उद्योगीलाई सहयोग गर्ने पार्टीको नीति रहेको बताए ।
उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने भन्दै उद्योग स्थापना गरेर नाफा कमाउने मात्र नभइ मानवलाई सुखी बनाउने माध्यमका रुपमा हुनुपर्ने उनको भनाइ छ ।




