एमसीसी पक्षधरहरूलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ : विप्लव

`

     २०७८ चैत्र १७ गते ५:५९

काठमाडौँ, १७ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुँजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पुर्याउनुपर्ने बताए ।

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने बताए । उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?