गठबन्धन दलमा दरार देखा परेसँगै इमरान खान सङ्कटमा

`

     २०७८ चैत्र १६ गते १०:१०

काठमाडौँ, १६ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अहिलेसम्मकै ठुलो राजनीतिक संकट बेहोरिरहेका छन् । सन् २०१८ मा पदभार ग्रहण गरेपछि खानले सबैभन्दा कठिन राजनीतिक परीक्षाको सामना गरिरहेका छन् । उनको पार्टीमा गम्भीर मतभेद र सत्तारूढ गठबन्धनमा दरारहरू देखा परेका छन ।

३४२ सिट रहेको सदनमा प्रधानमन्त्रीलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले दाबी गरेका छन् ।

खानले आफ्नो पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टी र राजनीतिक सहयोगीहरूको सहयोगमा अविश्वासको प्रयासलाई पराजित गर्ने बताउँदै आएका छन् । तर सरकारका सहयोगी दल एमक्यूएम-पिले अविश्वास प्रस्तावमा विपक्षलाई साथदिने निर्णय गरेको जियो न्यूजले जनाएको छ । एमक्यूएम- पिका पाकिस्तानी तल्लो सदनमा ७ सांसदछन् । जुन सरकार ढाल्न पर्याप्त रहेको बताइएको छ ।

इमरान नेतृत्वको सरकारी गठबन्धनसँग १७७ सिट रहेकोमा अहिले सो घटेर बहुमत आवश्यक पर्ने १७२ भन्दा ८ सिट कम १६४ पुगेको जियो न्यूजले उल्लेख गरेको छ । अहिले विपक्षी दलले १७७ मत पुर्याएकोले इमरानको सरकार ढल्ने निश्चित भएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

यसैबीच प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका सांसदहरूलाई अविश्वासको प्रस्तावमा मतदानको दिनमा नेशनल एसेम्बलीको बैठकमा सहभागी नहुन कडा निर्देशन दिएका छन् । अप्रिलको पहिलो साता हुने अविश्वासको प्रस्तावमाथिको मतदानमा सहभागी नहुन प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

पाकिस्तान तेहरीक–ए–इन्साफ सांसदहरूलाई लेखेको पत्रमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खानले भनेका छन, ‘ नेसनल एसेम्बलीमा अविस्वासको प्रस्तावमाथि हुने मतदानमा उपस्थित नहुनू वा बैठकमा उपस्थित नहुनू ।’

तल्लो सदन नेसनल एसेम्बलीमा बिहीबारबाट अविश्वासको प्रस्तावमाथि बहस सुरु हुनेछ र सात दिनभित्र मतदान हुनेछ । विपक्षी नेता सहबाज सरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

पाकिस्तानका विपक्षीले सोमबार तल्लो सदन नेशनल एसेम्बलीमा खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको एक दिनपछि प्रधानमन्त्रीको यो निर्देशन आएको हो ।

पाकिस्तानी तल्लो सदन नेशनल एसेम्बलीमा आगामी आइतबार अस्विश्वास प्रस्तावमा मतदान हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?