काठमाडौँ, १५ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबार पनि सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्दैछ ।
यसअघि बसेको बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य र ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरूले चुनावको तयारीका विविध विषयमा धारणा राखिसकेका छन् ।
प्रवक्ता प्रकाशशरण महतले सोमबारसम्म सबैले बोल्ने क्रम सकिएकाले अब मंगलबारको बैठकबाट प्रस्ताव पारित गर्ने काम हुने बताए ।
बैठकमा मुख्यतः चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा मतभेद छ । सभापति शेरबहादुर देउवा र उनीनिकट नेताहरूले गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् भने नेता शेखर कोइराला र उनीनिकट नेताहरूले गठबन्धन गर्न नहुने पक्षमा जोड दिएका छन् । प्रवक्ता महतले बैठकमा फरक मत आएपनि बाहुल्य नेताहरूको धारणालाई मध्यनजर गर्दै मंगलबार बस्ने बैठकले आसन्न निर्वाचनमा गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय लिने बताए ।




