सरकारले २० हजार प्रहरीको एकैपटक बढुवा गर्ने

`

     २०७८ चैत्र ०८ गते ८:२२

काठमाडौं, चैत ७ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा थपिएका नयाँ पदमा बढुवा गर्न प्रहरी नियमावली संशोधन गरेको छ । मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् । सरकारले १५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । नायब निरीक्षक र इन्सपेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तथा जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार पद थपिएको थियो ।

हालकै ज्येष्ठता कायम गरी बढुवा गर्ने गर्न प्रहरी प्रधान कार्यालयले गृहकार्य गरेको थियो । त्यसरी बढुवा गर्न ज्येष्ठताअनुसारकै अरु नम्बर मिलान नसक्ने अवस्था आएपछि प्रहरी नियमावली संशोधन नै गरिएको हो । यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि हालकै ज्येष्ठताअनुसार नै बढुवा गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

करिब २० हजार प्रहरी नयाँ नियमावलीअनुसार एकैपटक बढुवा हुनेछन् । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् । एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् र तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र बढुवा हुनेछन् । तल्लो तहमा देखिएको प्रहरीको बढुवा जामको समस्या हल गर्न नयाँ पद थपिएको हो । समयमा निर्णय नहुँदा उनीहरु मर्कामा परिरहेका छन् । १८ बैशाखमा अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै कार्यकालमा बढुवा गर्ने प्रयासमा छन् । अब यही हप्ता सबै पदमा बढुवा हुने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?